Kath khabar
जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन


                                       जुम्ला, माघ १३ ।  जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन भएको छ । लगातरको हिउँ परेर हिउँले धावन मार्ग जाम गरेपछि हिउँ पर्न रोकिए पनि जहाज बस्न कठिन भएको थियो ।

बिहीवार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सञ्चालन भएको हो । नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि २ वटा उडान भएका छन् ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा गरेसँगै हवाई सेवा सञ्चालन भएको हो ।

उहाँका अनुसार जहाज आएपछि ३ दिनदेखि थन्किएका यात्रुहरुको आवतजावत हुन थालेको छ । बिहीवार विमानस्थल सफा गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

हिउँ पञ्छाएपछि जहाज बस्यो धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपालीसेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको थियो ।

नेपाली सेना २४ नम्बर बाहिनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा विहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिनु भएको थियो । ३ दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।

काठमाण्डौबाट जुम्ला आउन लागेकी नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नेपालगञ्ज विमानस्थलमा जुम्लाको टिकट भए पनि तीन दिनदेखि हिउँपरेर आउन नसकिएको तर अहिले उडान भएपछि बल्ल गन्तव्यमा पुग्न सकिएको बताउनुभयो ।

शाही सँगै करिब ४ वटा जहाजका यात्रुहरु नेपालगञ्जबाट जुम्ला आउन कुरिरहेका थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज ४ वटा उडान हुने तयारी थियो । तर धावन मार्ग नखुलेका कारण सम्भव भएन ।

नेपाली सेनाका अनुसार हिउँ कम भएर दिउसो १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिए पनि हिउँ जमेर खुलाउन कठिन भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update