Kath khabar
गुल्मीमा होटेल सञ्चालन गर्दै आएकी महिलाको हत्या

 

                          गुल्मी, माघ १६ ।  गुल्मीको मुसिकोट र इस्मामा ३ महिनामा २ एकल महिलाको हत्या भएको छ ।  गुल्मीको मुसिकोट नगरपालिका ७ बामीनजिकै न्वारामा सञ्चालित गंगा होटेल सञ्चालक मृत फेला परेकी छिन् । 

बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी ५८ वर्षीया गंगादेवी शेरचन मृत फेला परेकी हुन् । अविवाहित शेरचनले एक्लै खाजानास्ता सहितको होटेल सञ्चालन गर्दै आएको मुसिकोट नगरपालिका-७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उनका अनुसार शेरचन आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन् । 

होटलेको मूलगेट बन्द थियो । सहायक ढोका खोलेर हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ । आइतबार बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयवासीले बामी प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटा र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले घटनास्थलको अवलेकन गरेको छ । 

भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान र मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए । हात खुट्टा बाँधिएको र शव घोप्टो परेको अवस्थामा भएकाले हत्याको आशंकामा कुकुर झिकाइएको रानाभाटले जानकारी दिए । ‘कुकुर र प्रहरी दुवैको काम अगाडि बढाएका छौँ । शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ उनले भने । 

तीन महिनामा तीन मारिए
पछिल्लो तीन महिनामा यस क्षेत्रमा तीन महिलाको हत्या भएको छ । गत २८ कात्तिकमा गुल्मीकै इस्मा गाउँपालिका ५ की ७४ वर्षीया एकल महिला जीवकला थापाको पनि हत्या भएको थियो । वर्षौँदेखि जीवकला एक्लै घरमा थिइन् । आमाको त्यो कथा युट्युबमा सार्वजनिक भएपछि भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंहले भिडियो पछ्याउँदै गाउँ गएर हत्या गरेका थिए । 

सिंहलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले १७ पुसमा पक्राउ गरेको थियो । यस्तै, मुसिकोट नगरपालिका– ७ का ४२ वर्षीय सूर्यबहादुर कुमालले १ कात्तिकमा ४० वर्षीया श्रीमती तालकुमारी कुमालको हत्या गरेका थिए । उनी २५ कात्तिकमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update