Kath khabar
राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही

 

              काठमाडौं, माघ २६ । नेपाल राष्ट्र बैंकले नौं वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । चालु आवको दोस्रो त्रैमासमा नौं वटा बैंक, बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई नगद जरिवाना तथा सचेत गराइएको हो, राष्ट्र बैंकले भनेको छ । जसमध्ये चार वटा बैंकहरुलाई प्रति बैंक ५० लाख रुपैंयाँको दरमा नगद जरिवाना र बाँकीकाई सचेत गराईएको छ ।

कारवाही अन्तर्गत प्रभु बैंकलाई सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ  । चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ । 

माछापुच्छ्रे बैंकलाई पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्वन्धमा क्यापिटल एडुकेसी फ्रेम वर्क, २०१५ अनुसार जोखिम भारित सम्पती गणना नभएको कारणले पुँजीकोष पर्याप्तताको यर्थाथ विवरण पेश नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) (क) बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ ।

यसैगरी सानिमा बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा अन्य कारवाही शिर्षक अन्तर्गत रहेर बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उलङ्घन हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) अनुसार बैंकलाई सचेत गराईएको छ ।

माछापुच्छ्रे बैंक, सिभिल बैंक र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा देखिएको कैफियतको आधारमा अन्य शिर्षक अन्तर्गत रहेर कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । यि बैंकहरुले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५/३/८ मा एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्था भएकोमा सोको अनुपालना भएको नपाईएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको राष्ट्र बैंकको भनाई छ ।

नविल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा देखिएको कैफियतको आधारमा अन्य शिर्षकमा रहेर कारवाही गरिएको छ । नेपाल राष्ट्र बैंक ई. प्र निर्देशन नं १९/०७८ (सम्पती शुद्धीकरण तथा आतंकावादी कार्यमा वित्तीय लगानी निवारण सम्वन्धी व्यवस्था), बुंदा नं २० कारवाही तथा सँजाय सम्वन्धी व्यवस्थाको उपबुंँदा नं २, क्र. स २ मा ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यानवयन नभएकोले बैंकलाई सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवरण ऐन, २०६४ (संसोधन सहित) को दफा ७ (फ), उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।  प्रभु बैंकलाई पनि पुन चालु आवको पहिलो त्रैमासमा अन्य कारवाही शिर्षक अन्तर्गत रहेर कारवाही गरेको छ ।

यस अन्तर्गत नेपाल राष्ट्र बैंक इ.प्रा निर्देशन नं १२/०७८ (कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था) को बुँदा १० को उपबुँदा २ को (ङ) (५) मा भएको व्यवस्था पालना नगरेको पाईएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकलाई सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।      

 

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update