Kath khabar
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित)



                     काठमाडौं, फागुन ६ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुसहित महाशिवरात्री तथा सेना दिवस-२०७९ मनाइएको छ ।

कार्यक्रममा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नु भई शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । उहाँले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही -२०७९ तथा नेपाली सेनाको इतिहास वि.सं. १८७२-२००७ नामक पुस्तकको विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने सेनानी जगनाथ दनै र सेनानी टेक बहादुर कार्कीलाई पुरस्कृत गर्नुभयो । राष्ट्रपतिले भारतीय सेना तथा बेलायती सेनाको ब्याण्डलाई उपहार पनि प्रदान गर्नुभयो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत विभिन्न ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । त्यस्तै राइफल र तोपबाट बढाइँ गरिएको थियो । नेपाली सेनाका विभिन्न अंगहरु तथा गतिविधिहरूको प्रतिनिधित्व हुने झलकहरुका साथै सैनिक हतियार, उपकरण र विविध सैनिक कला प्रदर्शन, मार्चपास, फ्रि -फल जम्प लगायत विभिन्न संस्कृती झल्कने नाच एवं झाँकी प्रस्तुत गरिएको थियो । उक्त समारोहमा नेपाली सैनिक व्याण्डका साथै भारतीय सेनाको इलाभेन्थ गोर्खा राइफल्स रेजिमेन्टल सेन्टर र बेलायती सेनाको व्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज प्रर्दशन गरिएको थियो ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, पूर्व प्रधान सेनापतिहरु, भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, विभिन्न मुलुकका सैनिक सहचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

समारोहको दोस्रो चरणमा प्रधान सेनापतिले नेपाली सेनालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने एवं आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान गर्नुहुने स्वदेशी तथा विदेशी महानुभावहरू र संघसंस्थालाई प्रधान सेनापति प्रशंसा निशान तथा प्रधान सेनापति प्रशंसा पत्र प्रदान गर्नुभयो ।

देशका विभिन्न स्थानहरुमा तैनाथ एवं विदेशस्थित नेपाली सेनाका सबै इकाइहरुले नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवका अवसरमा सेना दिवस-२०७९ विविध कार्यक्रमहरुसहित मनाइरहेका छन् ।


\

 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update