Kath khabar
आज बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड ग्याल्पो ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै

 

                  काठमाडौं, फागुन ९ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा सरकारले सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । ल्होसारको अर्थ ल्हो अर्थात वर्ष अनि छार अर्थात नयाँ हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ-आफ्नो घर रङ्ग्याउने, फोहोरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलाई सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाईएको एकप्रकारको यो मिठाई यस दिनको विशेष परिकार हो । ल्होसारको यस विशेष साँझमा खाइने हर्को विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्दछन् ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update