Kath khabar
कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक मिति तय



                       काठमाडौं, फागुन ९ । नेपाल बार एशोसिएसनको आयोजनामा वीरगञ्जमा फाल्गुन १२ गते देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरूको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ ।

मंगलबार उच्च अदालत परिसरमा आयोजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम् मधेश प्रदेशका संयोजक अधिवक्ता सुधीर कुमार कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्थिति ज्यादै न्यून भएकोले यो सम्मेलन बाट मधेश प्रदेशमा समेत कानून व्यवसायी महिलालाई पेशा प्रति आकर्षित गर्न र स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिनु भयो ।

वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून व्यवसायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ । अधिवक्ता कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगञ्जको घन्टाघरबाट प्रभातफेरी सुरु भई आदर्शनगर हुँदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधीशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन सुरु भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ ।

त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उद्घाटन संघीय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय ध्रुब बहादुर प्रधानबाट हुने जानकारी दिनु भयो । उक्त कार्यक्रममा अधिराज्यबाट करिब ८०० जना कानून व्यवसायीहरूको सहभागिता हुनेछ । सो परिषदको बैठकमा न्यायालय शुद्धिकरणको विषयमा कानून व्यवसायीको पेशागत दक्षता वृद्धिको सम्बन्धमा विधान संशोधनको सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जानकारी गराउनु भयो ।

पत्रकार सम्मेलनको संचालन उच्च अदालत बार एशोसिएसन वीरगञ्ज अध्यक्ष अधिवक्ता विशाल चौधरीले गर्नु भएको थियो भने सो पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, वरिष्ठ अधिवक्ता दीपक राज भण्डारी, पर्सा बार पूर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च बार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लिक, कोषाध्यक्ष अधिवक्ता प्रज्ज्वल अधिकारी तथा पर्सा बारका सचिव अधिवक्ता मुमताज अहमद लगायतको उपस्थिति रहेको थियो ।   


 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update