Kath khabar
हुम्लाको गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी

 

                  हुम्ला, फागुन २४ । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ ।

सर्केगार्ड गाउँपालिका-४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी शुरु भएको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए ।

कैलाश एयरको हेलिकोप्टरबाट अनुुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम शुरु भएको हो ।

हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ । हेलिकोप्टर भित्र राखेर भन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ ।

चालुु आर्थिक वर्षको २ हजार २ सय क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी गरिएको छ । खार्पुनाथ गाउँपालिकाका ५ वटा वडामै हेलिकोप्टरबाटै ढुवानी गरिएको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए ।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन् । गाउँपालिकाका लागि साढे ७ सय क्विन्टल नुन ओसार्ने कार्य भएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकोप्टरले ढुवानी गरी रहेको छ ।

हुम्ला जिल्लामा आयोडिन युक्त नुनको प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । यस्तै हवाइ मार्गबाट समेत हुम्लामा नुन ढुवानीको काम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update