Kath khabar
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै

 

                   सप्तरी, फागुन २६ ।  नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ।

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम शुरु गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ।

डाक्नेश्वरी नगरपालिका-३ तरहीका लक्ष्मी कुमार राय, श्याम कुमार मुखिया, श्रीप्रसाद साह, सन्तोष कुमार मुखिया, विष्णुपुर गाउँपालिका-१ खुरु हुरियाका गणेश कुमार यादव, विष्णु शर्मा र शम्भुनाथ नगरपालिका-१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ। यसअघि यही फागुन १९ गते अनाधिकृत रूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका-२ सिम्राहाका ७ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो।

शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ। विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेक जाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ। शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update