Kath khabar
वस्तु निर्यात २९ प्रतिशतले घट्यो


                 काठमाडौं, फागुन २८ । कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्षको सात महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल वस्तु निर्यात २९ प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड रुपैयाँ कायम भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल वस्तु आयात १९ दशमलव नौ प्रतिशतले कमी आई नौ खर्ब १९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ दशमलव आठ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४ दशमलव तीन प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाई छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल वस्तु व्यापार घाटा १८ दशमलव सात प्रतिशतले कमी आई आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव चार प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २८ अर्ब १७ करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब नौ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय सात दशमलव चार प्रतिशतले वृद्धि भई ३२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १५ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५६ दशमलव छ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update