Kath khabar
लोपोन्मुख अवस्थामा बुट्टेनली

 

                   ढोरपाटन, फागुन २८ । “अहिले त आँखा देख्नै छोडेँ, पहिले पहिले दिनमा २ वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका-९ का टेकबहादुर घर्तीमगर उमेरले ८३ मा लागे, अहिले पनि उनी घरभित्र बाहिरको काम सहजै गर्न सक्छन् । तर, पछिल्ला दिन उनको आँखा कमजोर हुँदा चित्र कोर्ने रुचि हुँदाहुँदै पनि सक्दैनन् ।

चित्र कलामा पोख्त उनले जवानीमा काठ तथा बुट्टेनलीमा धेरै आकृति कोरे । एक दशक अगाडिसम्म पनि उनले सजिलै बुट्टेनली बनाउने गर्थे तर आँखामा मोतियाबिन्दु भएपछि आँखाको शल्यक्रिया गरे। उनले भने, “शल्यक्रिया पछि चित्र कोर्न सक्दिन । ”ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।

बाँस, लेकमा पाइने गजिङ, मालिङ लगायतका बाँसजन्य काठमा हातले कलात्मक शैलीमा कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिएकामा अहिले त्यो प्रचलन हराउँदै गएको घर्तीमगरले गुनासो पोखे । उनले देवी देवता खुसी बनाउनका लागि उनीहरूको चित्र बनाउने गरेको बताए । बुट्टेनलीमा भगवानको चित्रसँगै फूल, चरा लगायत मौलिक सांस्कृति बोकेका वस्तुको चित्र कोरिने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, “हाम्रो पालामा बुट्टेनली बनाउन समस्या थिएन, बाउबाजेले बनाउँथे उनीहरूबाटै सिक्यौँ, बनायौँ पनि, अहिले ठिटाहरूले यस्तो काम गर्दैनन्, सिक्न पनि चाहन्नन्, त्यसले गर्दा हराउँदै गयो, अहिले पनि गाउँमा २-४ जना बुढा छन्, उनीहरूले राम्रो चित्र कोर्थे, अहिले त उनीहरू पनि मजस्तै आँखा नदेख्ने भए ।”

बुट्टनली देशभित्र मात्रै नभई युरोप, अमेरिका लगायतका ठूला ठूला देशमा निर्यात हुने गरेको उनले सम्झिए । अहिले कसैले किन्न चाहे पनि गाउँमा पाइन छाडेको घर्ती मगरले बताए । बागलुङ जिल्लाको चिनारी बनेको बुट्टेनली लोप हुँदै गएपछि पहिचान जोगाउनै हम्मेहम्मे पर्ने स्थिति आएको छ । स्थानीय प्रेम बहादुर सुनारले गाउँमा आउने पाहुनालाई मायाको चिनो स्वरुप बुट्टेनली दिने गरेको स्मरण गरे ।

उनले अहिले ढोरपाटन घुम्न आउने पर्यटकले बुट्टेनली किन्न खोज्ने गरेको सुनाउँदै उनीहरूलाई बिक्री गर्ने बुट्टेनली गाउँघरमा पाइन छाडेको बताए । लौरोका रूपमा प्रयोग गरिने बुट्टेनली अहिले गाउँका एकाध बूढापाका बाहेक अरुसँग नभएको उनले बताए । बुट्टेनली बन्न छाडेपछि गाउँका बूढापाकाले बजारमा आएका फलामका लौरो प्रयोग गर्न थालेको उनको भनाइ छ ।

“हामीहरु त लेकमा बस्ने मान्छे हौँ, सधैँ लेकबेँसी गर्नुपथ्र्यो, लेकबेँसी गर्दा त्यही बुट्टेनली टेकेर हिँडिन्थ्यो, तल बजार तिर जाँदा साहु साहेबहरूले उतै राख्नुहुन्थ्यो, निकै राम्रो लाग्थ्यो रे उहाँहरूलाई, कहिलेकाहीँ गाउँमा आउँदा इष्ट मित्रलाई मायाको सम्झनाका लागि बुट्टेनली दिने चलन थियो”, उनले भने, “अहिले त त्यस्तो चलन छैन, त्यो चलन पनि हरायो, बुट्टेनली पनि हरायो ।”

निसीखोला गाउँपालिका-६ का तेजिन्द्र घर्ती मगरले बुट्टेनलीसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, कोक्रो लगायतका सामान समेत बुन्न छाडिएको बताए । आयातित प्लास्टिकका सामानले चोयाबाट बन्ने सामग्री ओझेलमा परेको सुनाए । आफ्नो घरमा ३ वर्ष अगाडि सम्म २ वटा बुट्टेनली रहेकामा पोखराबाट घुम्न आएका पर्यटकले लिएर गएको उनी बताउँछन् ।

साविक धवलागिरि अञ्चलको बागलुङमा बढी प्रचलित बुट्टेनली नेपालमै चर्चित काष्ठकलाका रूपमा लिइन्थ्यो । गाउँमा आउने विदेशी पर्यटकलाई बुट्टेनलीले लोभ्याउने हुँदा उनीहरूले हजारौँ रुपैयाँ तिरेर लैजाने गरेको बूढापाका बताउँछन् । बुट्टेनलीसँगै भेडाका रौँबाट बनेका राडीपाखी र लेकाली गाईको घ्यू समेत विदेशीले लैजाने गरेको उनीहरूको भनाइ छ । अहिले लेकाली गाईको घ्यू र बुट्टेनली भेट्टाउनै मुस्किल पर्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update