Kath khabar
झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ

 

                  रुपन्देही, फागुन ३० ।  रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ ।

आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ । सामाजिक सञ्जालमा आएको भिडियोमा कथित माताले किशोरीको अनुहारमा थुक्ने, खरानी ख्वाईदिने र लछारपछार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । ज्ञवालीको फागुन २० गते राति मृत्यु भएको थियो ।

सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जाल मार्फत प्रहरीलाई दबाव परेको थियो। त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ। को को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको हो।

‘घटना अत्यन्त संवेदनशील छ। गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौं। माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,’ प्रहरी निरीक्षक कुँवरले भने। सीताका आमालाई भने प्रहरीले पक्राउ नगरेको उनले बताए। ‘अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं। अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,’ उनले भने।

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा कान दुखेको बिरामीलाई झारफुक गरेर निको बनाउँछु भन्ने माता र त्यहाँ लैजाने परिवार सबै दोषी रहेको बताए। ‘गाउँघरमा सामान्य फुकफाक गर्नुलाई सामान्य मानिएला। तर झारफुकको नाममा मृत्यु हुनेसम्मको यातना दिइनु जघन्य अपराध हो। अब यस्ता घटना दोहोरिन नदिने गरी सचेतनाका कार्यक्रम गर्नुपर्छ,’ उनले भने।

नगरप्रमुख शर्माले यो घटनाले समाजको चेतनालाई प्रष्ट पारिदिएको भन्दै नगरपालिकाले अब सामाजिक सचेतनाका कार्यक्रम अगाडि सार्ने बताए। ‘विद्यालयमा होमवर्क नलेखेको भन्दै शिक्षकले सामान्य रूपमा हाने विद्यालय बन्द गराउने अवस्था छ। यहाँ त परिवार र आफन्तहरू नै छोरीको मृत्युमा रमिते बनेर बसेको देखिन्छ,’ शर्माले भने।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update