Kath khabar
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

 

                  काठमाडौं, चैत ३ ।  नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे। भेटमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे ।

समाजमा भएका विकृति, विसङ्गति प्रति पत्रकार जगत सचेत भएर कलम चलाइरहनु पर्नेमा उनको जोड थियो । “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकार जगत सचेत रहेर सही सूचना दिनुपर्छ”, उनले भने ।

महासंघका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए । भेटमा महासंघका महासचिव रोशन पुरी लगायत पदाधिकारी सहभागी थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update