Kath khabar
डेढ करोडको लगानीमा सञ्चालनमा आयो ‘एयरक्राफ्ट म्युजियम’  

 

                  दोधारा चाँदनी, चैत ५ ।  कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ। पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ रू १ करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो।

क्याप्टेन वेद उप्रेतीले नयाँ पर्यटकीय गन्तव्यका रूपमा म्युजियम सञ्चालनमा आएको उल्लेख गर्दै म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको फोटो राखिने जानकारी दिए। ९ वर्षअघि धनगढीमा खुलेको म्युजियम जमिन अभावका कारण महेन्द्रनगरमा स्थापना गरिएको हो।

“कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो।” उनले भने,“यसमा एकै पटक १ सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।”

‘क्याप्टेन उप्रेती ट्रष्ट’ले महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मूर्ति र स्विमिङ पुल निमार्ण गरेको छ। उनले सुदूरपश्चिम क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवाद समेत सुन्न सकिने बताए। म्युजियम प्रवेशका लागि प्रति व्यक्ति रू १ सय तथा विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update