Kath khabar
बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै

 

                   काठमाडौं, चैत २१ ।  नयाँ वर्षको अवसरमा आगामी बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा 'नेपाल टुरिजम फेस्टिभल' हुने भएको छ।

नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोग र एनटिपी मल्टिमिडिया ग्रुपको आयोजनामा पहिलो पटक नेपालमा पर्यटनको नीतिगत छलफल र बहस गर्ने उद्देश्यले खुल्ला रूपमा नेपाल टुरिजम फेस्टिभल हुन लागेको हो। आइतबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर नेपाल टूरिजम फेस्टिभलको घोषणा गरिएको हो।

यो फेस्टिभल अब हरेक वर्ष हुनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत कुरालाई केलाउन फेस्टिभलको आयोजना गरिएको आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।

दुई दिने फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुनेछन्। फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ। यस्तै अन्तिम सेसन 'पर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपाल' पर्यटनमन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ। फेस्टिभलमा विभिन्न विधामा पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन्।

यस्तै अन्य सेसनमा 'पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास', 'स्वास्थ्य पर्यटन, स्वास्थ्य सदृश्य र संसार', 'चलचित्र पर्यटन, सिन, सिनेमा र सेलिब्रेटी' हुनेछन्। यस्तै 'व्यावसायिक पर्यटन, रहर, सहर र पर्यटन बजार', 'पर्यटनमा जलवाय' परिवर्तनको असर, हिउँ हिमाल र हिमालय' सेसन पनि सञ्चालन हुनेछ। नेपालमा रहेका विभिन्न विदेशी राजदूतको 'नेपाल अनुभव' सेसन पनि सञ्चालन हुने फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए।

फेस्टिभलमा 'खेल पर्यटन, खेल, खेलाडी र गोर्खाली' तथा 'कला पर्यटन, संगीत, सौन्दर्य र सुनौलो नेपाल', कृषि पर्यटन सेसन पनि सञ्चालन गर्ने तयारी छ। यसबाहेक शिक्षा पर्यटन, युद्ध पर्यटन, साहित्य पर्यटन लगायतका विषयले पनि प्राथमिकता पाउने आयोजकको भनाइ छ ।

नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।

'नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन केन्द्रित नीतिगत बहस गर्ने उद्धेश्यले नेपालमा पहिलोपटक नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागेका हौँ' फेस्टिभल संयोजक विष्णु विवेकले भने, 'वैशाख १ र २ गते हुने कार्यक्रममा सरकार, निजी क्षेत्र, पर्यटन क्षेत्रका सरोकारवालाबीच गम्भीर छलफल, बहस तथा अन्तरक्रिया हुनेछ।'

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update