Kath khabar
१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै 

 

             काठमाडौं, चैत २४ ।  एनसेल आजियटासँगको सहकार्यमा १६औं दरबारमार्ग सडक महोत्सव हुने भएको छ।

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा 'एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६औं दरबारमार्ग सडक महोत्सव' आयोजना हुने भएको हो। 

शुक्रबार एक कार्यक्रम आयोजन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुने घोषणा गरेको हो। यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ। 

यस महोत्सवले लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नमा सकारात्मक भूमिका खेल्ने आयोजकहरूको भनाइ छ। आयोजक टोलीका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य हो।

काठमाडौं महानगरपालिका भित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ। साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिबार (वैशाख २ गते) बिहान ११:३० बजे हुने बताइएको छ। 

गीत-संगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र रमाइला गतिविधिहरू सहित सो दिन बेलुका ८:३० बजेसम्म महोत्सव आयोजना हुनेछ।  यस महोत्सवमा चर्चित गायक-गायिका, कलाकार तथा सांगितिक समूहहरूको समेत प्रस्तुति हुनेछ। महोत्सवमा गायक दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्तीमुनी, त्रिशला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र द एलिमेन्टस् आदिको प्रस्तुति हुने बताइएको छ। 

महोत्सवमा शारिरीक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहनेछन्। साथै महोत्सवमा विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन र प्रस्तुतिका स्टलहरू हुनेछन्। बालबालिकाका लागि छुट्टै किडस् जोन हुने भनिएको छ। 

महोत्सवमा ५० भन्दा बढी यस्ता स्टलहरू हुने अनुमान छ भने एक लाख बढी अवलोकनकर्ताहरू पुग्ने आयोजकको अनुमान छ।  यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ। दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह-प्रायोजकमा कार्ल्सबर्ग, बेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुन नेपाल, एनडिज आइसक्रिम र केएफसी छन्।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update