Kath khabar
अन्नपूर्ण हिमालमा ४ दिनपछि बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार

 

                म्याग्दी, वैशाख ७ । अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका १ जना भारतीय आरोहीको  ४ दिनपछि जीवितै उद्धार गरिएको छ । 

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहीवार बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएको हो । गएको सोमवार देखि बेपत्ता मालुलाई प्रभु एअरको हेलिकप्टरले बिहान साढे १० बजे ७ हजार ५ सय मिटरको उचाइबाट उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । 

उद्धार गरिएका आरोहीको पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको उहाँले बताउनुभयो । परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट ट्रेक मार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभए पछि आधार शिविर फर्कने क्रममा उनी  बेपत्ता भएका थिए । 

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलवार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि उद्धार गरिएको थियो । काठमाण्डौ लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ । 

यस्तै अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा स्कटल्याडका आरोही नोयल हान्नाको मङ्गलवार ज्यान गएको थियो । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा गएको शनिवार देखि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो । 

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट ५ वटा समूहका ४५ जनाले अनुमति लिएका थिए । बुधवारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । 

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update