Kath khabar
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी

 

                  काठमाडौं, वैशाख १९ ।  प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी पक्राउका लागि सहयोग माग्दै संसद् सचिवालयलाई पत्र पठाएको छ। प्रहरीले कोइरी पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई दोस्रोपल्ट पत्र काटेको हो।

नक्साल प्रहरी मुख्यालयमा प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार सभामुखका नाममा दोस्रोपल्ट कोइरीलाई पक्रिन सहयोगको याचना गर्दै पत्र लेखेको हो। प्रहरी प्रधान कार्यालयबाट सभामुखका नाममा लेखिएको पत्र प्राप्त भएको पुष्टि संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले गरे।

प्रहरी प्रधान कार्यालयले गत ७ पुसमा पनि संसद् सचिवालयसँग कोइरी पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो। उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो। तर पत्र आएपछि पनि सांसद कोइरी संसद् बैठकमा हाकाहाकी उपस्थित भएका थिए।

गत १९ चैतमा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि उक्त पत्रको औचित्य सकिएको बुझाइ सभामुख र संसद् सचिवालयको थियो। कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन पत्र लेखे पनि १५ वैशाखको संसद् अधिवेशनको अन्तिम बैठकले अस्वीकारेको थियो। 

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ। २५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

त्यस लगत्तै नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्।

सभामुख घिमिरेको निर्देशन अनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो । कोइरी विरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update