Kath khabar
अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै, बिक्रीप्रबन्धकमा मुक्तिनाथ क्यापिटल


                 काठमाडौं, वैशाख २७ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकार मध्ये हिम श्रृखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकारहो । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी एक अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको हो । केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने छ । पाँचवर्ष अगाडि निर्माण सुरु भएको केबलकार कोभिडको कारण तोकिएको भन्दा दुई वर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए ।  

पोखरा महानगरपालिका–१८ स्थित सेतीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशन निर्माण गरिएको छ । जसको निर्माण लागत एक अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केबलकारनिर्माणको लागि कम्पनीले बैंकसँग एक अर्ब सात करोड रुपैयाँ ऋण लिएको थियो । केबलकारको माथिल्लो स्टेशन सराङ्गकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भईरहेको छ । सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाई रहेको छ । यो मूर्तिविश्वकै ठूलो मध्ये एक हो ।

यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । केबलकार चढेर सराङ्गकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ । विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केबलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ  । सूर्योदय, सूर्यास्त, हिम श्रृखलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ । हिमालको सबैभन्दा नजिक रहेको केबलकार नेपालकै पहिलो हो । त्यतिमात्रै नभएर नेपालमा सञ्चालनमा रहेका केबलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो ।

यस केबलकार परियोजनामा जापानिज निप्पोन केवलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ, जुन सुरक्षाको हिसावले बढि सुरक्षित मानिन्छ । २०७८ साल फागुन देखि सञ्चालनमा आएको केवलकारमा क्याबिन सहित १८ वटा गोन्डोला रहेको छ । केबलकारको सुरुको स्टेशनदेखि अन्तिमसम्म १३ वटा टावर रहेको छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update