Kath khabar
एन आई सी एशिया बैंकले ल्याएको छ लाइनमा बस्नै नपर्ने क्यास डिपोजिट मेसिन



          काठमाडौं, वैशाख २८ । धेरै बैंक शाखाहरुमा पुग्ने हो भने रकम डिपोजिटको लागि लामो लाइन देखिन्छ । कतिपय बैंकमा त एक दुई घण्टा पनि बिताउनुपर्छ । बैंकहरूले अन्य सुविधालाई जस्तै रकम डिपोजिटको लागि डिजिटल सेवा ल्याउन पनि सकेका छैनन् ।

जहाँ समस्या, त्यहाँ उपाय भने जस्तै समस्या भएको ठाउँमा समाधान पनि आउँछन् । नेपालमा बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रयोग र इनोभेसन गरिरहेको एन आई सी एशिया बैंकले लामो लाइनमा बसेर डिपोजिट गर्नु पर्ने बाध्यतालाई हटाउँदै ग्राहक आफैले मेसिनबाट रकम डिपोजिट गर्न सकिने सुविधा ल्याएको छ । जसलाई क्यास डिपोजिट मेसिन (सीडीएम) भनिन्छ ।

हाल यस बैंकका ग्राहकहरुले देशभरका विभिन्न दश ठाउँमा यो मेसिनबाट रकम डिपोजिट गर्न सक्नेछन् । बैंकले काठमाडौँस्थित न्युरोड विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) रुपन्देहीस्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रनगर शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङ विराटनगर शाखा र पर्सा वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।

‘बैंकिङ क्षेत्र पूर्ण डिजिटल सेवा प्रदान गर्ने बाटोमा गइरहेको छ । यो अहिलेको आवश्यकता पनि हो,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘अन्य धेरै सेवा डिजिटलमा रुपान्तरण भइरहेको बेला डिपोजिटलाई कसरी डिजिटल बनाउने भन्ने समस्या भइरहेको छ । यसै अवस्था हामीले बैंक शाखामा लाइन नबसी क्यास डिपोजिट मेसिनबाट एन आई सी एशिया बैंकको आफ्नो खातामा वा अरु यसै बैंकको अरुको खाता रकम डिपोजिट गर्न सकिने व्यवस्था मिलाएका छौं ।’

क्यास डिपोजिट मेसिनबाट रकम डिपोजिट गर्दा कुनै पनि कागजी फारम भर्नु पर्दैन । न त लाइनमै बस्नु पर्छ । मेसिनमा खाता नम्बर र मोबाइल नम्बर उल्लेख गरेपछि रकम डिपोजिट गर्न सकिन्छ । यो सेवा हाललाई बैकिङ समयभित्र उपलब्ध गराइएको छ । खाता नम्बर र मोबाइल नम्बरका आधारमा रकम जम्मा गर्न सकिने यस मेसिनमा ५०० र १००० रुपैयाँका नोटहरु डिपोजिट गर्न सकिन्छ । खातामा एक पटकमा अधिकतम ९९ हजार ५ सय र एक दिनमा अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

मेसिनबाट क्षणभरमै रकम जम्मा गर्ने भएकाले बैंकले यसलाई पूर्ण सुरक्षित पनि बनाएको छ । सुरक्षाको तहलाई मजबुत बनाउन खातामा उल्लेख मोबाइल नम्बर मेसिनमा उल्लेख गरेपछि सोही मोबाइलमा अस्थायी पासवर्ड (ओटीपी) कोड प्राप्त हुन्छ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछिमात्र क्यास डिपोजिट हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ । साथै कति क्यास डिपोजिट भयो भन्ने जानकारीका लागि मेसिनबाट तत्कालै डिपोजिट स्लिप प्राप्त गर्नुहुने छ । साथै,  मोबाइलमा एसएमएस प्राप्त हुनेछ ।

यसरी रकम डिपोजिट गर्न बैंकका कुनै पनि प्रतिनिधि उपस्थित हुनुपर्दैन । यदि ग्राहकलाई डिपोजिटका क्रममा केही अलमल भयो भने बैंक कर्मचारीले आवश्यक सहयोग गर्ने बैंकले जनाएको छ । मुलुकभर १० ठाउँमा यी मेसिनहरु सञ्चालनमा आएपछि लाखौं ग्राहकलाई रकम डिपोजिट गर्न लाइनमा बस्नु पर्ने बाध्यता हटेको बैंकले जनाएको छ । एन आई सी एशिया बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटलबाट गर्ने लक्ष्य राखेको छ । हाल कुल कारोबारको झन्डै ८० प्रतिशत डिजिटल कारोबार गरिरहेको बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।

वाणिज्य बैंकहरुको प्रतिस्पर्धामा यस बैंकले डिजिटल कारोबारमा अग्रणी स्थान हासिल गरेको छ । आ.व. २०७३÷७४ मा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकको संख्या १ लाख २१ हजार रहेकोमा गत आ.व.मा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको थियो भने चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मोबाइल बैंकिङ्गका ग्राहकको संख्या २३ लाख २३ हजारभन्दा धेरै पुगिसकेका छन् । त्यसैगरी, इन्टरनेट बैंकिङ्गमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ९१ हजारबाट माथि लागिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update