Kath khabar
काजकिरिया गरेकै दिन मृतक छोरा टुप्लुक्क घर आइपुगेपछि

 

               सुरूङा, वैशाख २९ ।  २ साताअघि सुरूङास्थित कोटिहोममा बेवारिसे शव फेला परेको थियो। सुरूङा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि मेची प्रादेशिक अस्पतालको शव गृहमा शव पठाएको थियो।

कन्काईमा मलामी आएका छिमेकीले गाउँमा सो खबर पुर्‍याए। कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्नेसम्म सूचना गाउँ पुगेपछि हराइरहेको सदस्य पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो। मृतककी बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाइजस्तै लागेपछि कन्काईमा लगेर आफन्त, छरछिमेकको सहयोगमा अन्त्येष्टि समेत गरिन्। गोलधापमा मृतकका कान्छा काका काजकिरियामा बसे।

‘२७ वर्षका दाइ सुरज कार्की घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको थियो,’ बहिनी विनाले भनिन्, ‘देख्ने, सुन्ने र जान्नेले मुडुला कार्की रहेछ भने, जिउ पनि पातलो देखेपछि दाइ नै हो भन्ने लागेर धार्मिक रीतिरिवाज अनुसार अन्त्येष्टि गरियो, काजकिरिया पनि गरियो। काम सकेकै दिन दाइ टुप्लुक्क घर आइपुग्दा हामी परिवार चकित पर्यौं।’

आफ्नो काजकिरिया काकाले गरिरहेको सुरजले सामाजिक सञ्जालमा थाहा पाएपछि उनी घर गएका थिए। उनले भने, ‘काकाले मेरो किरिया गरिरहेको १२ औं दिनका दिन फेसबुकबाट देखें। कुनै अप्ठ्यारो होला भनेर कसैलाई भनिनँ। सिधै घर गएँ।’

जिउँदो मान्छेको काजकिरिया गरेपछि परिवार समेत यतिबेला कर्मकाण्डीय संकटमा परेको छ। दाइ बितेको थाहा पाएपछि कुवेतमा रहेका भाइ घर फर्किएका थिए।

कार्की परिवारको आमा-बुवा पनि सम्पर्क विहीन छन्। बिनाका अनुसार आमाबुवा भारतको अरूणाचलमा बस्दै आएका छन्। काजकिरिया सकिएपछि परिवारले अहिले जन्मकर्मका लागि धार्मिक गुरूहरूसँग सल्लाह लिइरहेको छ।

पुरोहितले जिउँदाको दाहसंस्कार गरेपछि पुन न्वारन, व्रतबन्ध लगायतका जन्मेदेखि मृत्युसम्मका कर्मकाण्डीय संस्कार गर्नुपर्ने बताएका छन्। दाजु घर आउँदा परिवारमा खुसीको सीमा नरहेको बिनाले बताइन्। अब, सारा कर्म गरेर भए पनि दाइलाई घर भित्र्याउनु छ,’ उनले भनिन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update