Kath khabar
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा

 

                 रुपन्देही, जेठ १ ।  नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट तोकिएको परिमाण भन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो । 

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई ३ महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।  निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्याङ्करको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णय समेत गरेको छ । 

लु २ ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाण भन्दा ३ हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो ।

तोकिए भन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले सो ट्याङ्करले चोरीपैठारी गरेका हुनसक्ने निगमको अनुमान छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update