Kath khabar
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार

 

                   खलंगा, जेठ २ ।  दार्चुलामा यार्सागुम्बा संकलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका ३ जना यार्सा संकलकको ४ दिनपछि उद्धार गरिएको छ।

घाइते यार्सा संकलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

चट्याङबाट घाइते यार्सागुम्बा संकलकहरुको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा ३ यार्सागुम्बा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।

उनीहरु गाउँलेसँगै यार्सागुम्बा संकलकका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलको हिमाली भेगमा जेठ देखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलक गरिन्छ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update