Kath khabar
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी

 

               काठमाडौं, जेठ ३ ।  विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारले बरामद गर्‍यो, तर भन्सारकै नासुले तस्करसँगको मिलेमतोमा चुरोट साटफेर गरेर पास गराए  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि कर्मचारीको मिलेमतोमा करिब ६ करोड मूल्य बराबरको सुन तस्करी भएको छ । विमानस्थलस्थित भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्का सहित ४ जनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने अन्यमा १ भन्सार एजेन्ट र २ सुन व्यापारी छन् । प्रारम्भिक अनुसन्धानमा मिलेमतोमा तस्कर समूहले विद्युतीय चुरोट भित्र लुकाएर सुन तस्करी गरेको खुलेको छ । 

घटना केही दिनअघिको हो । विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट राखिएका २ सुटकेस बरामद गरेको थियो । एकै व्यक्तिले ठूलो मात्रामा विद्युतीय चुरोट विदेशबाट ल्याएको देखेपछि भन्सारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । ती सुटकेस चीनबाट ल्याइएको थियो । सुटकेस भन्सारमा रहेका वेला नासु खड्काले अर्को विद्युतीय चुरोट साटफेर गरेर त्यसलाई पास गराएका थिए । खड्का भन्सारको मुद्दा शाखाका कर्मचारी हुन् । 

नासु रेवन्त खड्काले नै भन्सारको गोदामबाटै विद्युतीय चुरोट साटफेर गरेको पुष्टि भएको छ,’ भन्सार कार्यालय स्रोतले भन्यो । व्यापारीले भन्सार एजेन्ट मार्फत नासु खड्कालाई आर्थिक प्रभावमा पारी सुन तस्करी गराउन सफल भएका थिए । साटफेर गरिएको विद्युतीय चुरोट पनि प्रहरीले बरामद गरेको छ । भन्सार कार्यालयकै आन्तरिक छानबिनमा अनुसन्धानमा रहेको विद्युतीय चुरोट साटफेर भएको देखिएको थियो । त्यसको थप छानबिनका लागि उसले सिआइबीलाई पत्राचार गरेपछि वास्तविकता बाहिर आएको हो । 

विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले नासु खड्का पक्राउ परेको जानकारी भए पनि अनुसन्धानको विस्तृत विषय प्रहरीले जानकारी नगराएको बताए । सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारी अनुसन्धानका लागि नासु सहित ४ जनालाई पक्राउ गरिएको बताउँछन् । तर, अनुसन्धान पूरा भएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतमा पनि प्रहरी, भन्सार र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुने गरेका थिए । अहिले नयाँ शैलीमा सुन तस्करी हुने गरेको तथ्य बाहिर आएको छ । सो समूहले विगतमा पनि त्यसरी विद्युतीय चुरोट भित्र लुकाएर सुन तस्करी गरेको हुन सक्ने प्रहरी आशंका छ ।

यसैबीच, छुट्टै तस्करीमा सघाएको भन्दै रसुवा भन्सारका कर्मचारी माथि पनि भन्सार विभागले छानबिन थालेको छ । मिलेमतोका आधारमा न्यून बिजीकरण गरेको प्रमाण भेटिएपछि भन्सार विभागले रसुवा भन्सारका प्रमुख नारायण भण्डारी लगायत माथि छानबिन थालेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update