Kath khabar
प्रेमीले गरे प्रेमिका र काकाको हत्या

 

                 कपिलवस्तु, जेठ १८ ।  प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा १ युवाले प्रेमिका सहित २ जनाको हत्या गरेका छन्।

प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बिहीबार बिहान ९ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।

घलेका अनुसार मोहन र अन्जनी बीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्।

‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।

अहिले चक्कु प्रहार गर्ने मोहनलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update