Kath khabar
टिकटक बनाउनेको भिडले कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढ्दो

 

                    कैलाली, जेठ १९ ।  कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ । पुलमा सेल्फी खिच्ने देखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो । 

चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो । 

कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’ 

कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको यो पुलको तत्कालीन प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नु भएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या समेत बढ्दो छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update