Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु 


                 काठमाडौं, जेठ २१ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस आजदेखि शुरु हुनेछ । आजदेखि थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । थुनछेक बहस पछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट ८ जनाले बहस गर्नेछन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् । पक्राउ परेका सबै १८ अभियुक्तको शुक्रबार वयान सकिएको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जना विरुद्ध ५ अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुर सहित किर्ते, राज्य विरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए । अदालतमा मुद्दा दायर भइसके पछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए । हाल १८ अभियुक्त हिरासतमा छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update