Kath khabar
भारतीय साथीसँग मिलेर श्रीमानको हत्या

 

              नवलपरासी, जेठ २२ ।  नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको बिहीबार राति हत्या गरेको प्रहरीले जनाएको छ।

मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए। हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ।

उनीहरू विगत २ वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए। हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए। माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्द खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्। २ जना छोराहरू रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको आइतबार पक्राउ परेकी उनले प्रहरी समक्ष साबिती बयान गरेकी छन्।

हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update