Kath khabar
५ महिनामा ४ लाख पर्यटक नेपाल भित्रिए

 

             काठमाडौं, जेठ २२ ।  देशले आर्थिक मन्दी झेलिरहेको बेला कतै कतैबाट खुशीका खबर पनि आइरहेका छन् । जस्तो कि, यो वर्ष नेपालमा विभिन्न मुलुकबाट आउने पर्यटकको संख्या १० लाख पुग्ने अपेक्षा गरिएको छ।

सन् २०२३ को ५ महिना बितिसक्दा बाहिरबाट ४ लाख पर्यटक भित्रिएका छन् । जबकि सन् २०२२ भरी जम्मा ६ लाख पर्यटकले नेपाल टेकेका थिए । त्यसैले यही रफ्तारमा पर्यटक आगमन हुने हो भने यो वर्ष १० लाख कट्ने अनुमान छ । पर्यटकसँगै विदेशी मुद्रा पनि आउने कारण त्यसले आर्थिक मन्दीलाई केही न केही राहत दिने गर्दछ । तर, अमेरिकी पर्यटक भनी मख्ख पर्नुपर्ने अवस्था छैन ।

अमेरिकाबाट आउने कूल संख्याको ८ प्रतिशत देखिन्छ । तर, ती सबै त्यहाँका नागरिक हैनन् । नेपालीले पनि त्यहाँको ग्रीनकार्ड लिएपछि अमेरिकी नागरिकको हैसियतमा, त्यतैको राहदानी प्रयोग गर्छन् र अध्यागमनको अभिलेखमा उनीहरू अमेरिकी पर्यटकका रूपमा देखिन्छन् । आउन चाहिँ बाबु आमा, इष्टमित्र भेट्न र घरव्यवहार मिलाउन हुन्छ । तर, आएका मध्ये ५० प्रतिशत भने साँच्चैका पर्यटक छन् ।

अर्को सुखद सम्भावना छ, भारतले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति हवाई रुट सहज गरिदिने आश्वासन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका सिलसिलामा हवाई रुट खुला गर्नेबारे एजेण्डाको छलफल गरेको छ । लखनऊ हुँदै विदेशी जहाज भैरहवामा आवत जावत गर्ने भए भने त्यसले पर्यटक आगमनसँगै विदेश जाने यात्रुको घुइँचो पनि लगाउँछ । तर, यो विषय भारतका निम्ति सैन्य संवेदनशीलतासँग जोडिएको छ । यदि उसले हवाई रुट दियो भने विभिन्न शहरबाट हेलिकोप्टर उडान जोड्ने, भारतीय विमानलाई स्लटहरू बढाउने प्रस्ताव आउन सक्छन् । भारतीय उडानका जहाजको लागि सम्झौता भए भन्दा बढी उडान अनुमति दिनुपर्ने माग छ । 

उता, भैरहवा विमानस्थल चलाउन भनेर नेपाल एयरलाइन्सको दिल्ली, बम्बई उडान कटौती भएको छ । यो चाहिँ नागरिक उड्डयन प्राधिकरण आफैं जान्ने भएर गरेको हो । प्राधिकरणले दिल्लीका लागि साताको २१ उडानलाई १४ बनाएको छ । भैरहवातिरबाट उडान गराउन दबाबका लागि त्यसो गरिएको भनिए पनि घाटाचाहिँ नेपाललाई नै छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update