Kath khabar
५ दिनदेखि बेपत्ता कविताको शव वनमा गाडिएको अवस्थामा फेला

 

               कैलाली, जेठ २३ ।  कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। गौरीगंगा नगरपालिका-१ की २७ वर्षीया कविता बुढाको गाडिएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार उनको सोमबार साँझ घर देखि करिब २ किलोमिटर टाढा केदारेश्वर सामुदायिक वनमा शव गाडिएको अवस्था फेला परेको हो।

सोमबार बिहान मात्रै कविताका दाजुले उनी, उनका छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय दिलिप सिह बुढा हराएको भन्ने खबर इलाका प्रहरी कार्यालय चौमालालाई गराएका थिए। प्रहरीका अनुसार उनीहरू १८ गतेदेखि सम्पर्क विहीन भएका हुन्। 

सोही आधारमा उनीहरू ३ जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो। उनको हत्या संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ। घटनाबारे प्रहरी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको बताएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update