Kath khabar
श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या

 

                  बारा, जेठ २९ ।  बाराको भवानीपुर टोलमा परपुरुषको गर्भ बोकेर बच्चा जन्माएको भन्दै आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई बारा प्रहरीले हिजो सार्वजनिक गरेको छ ।

श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या गरेको कसुरमा पक्राउ परेका जिल्लाको देवताल गाँउपालिका-४ का वर्ष २४ का नुर आलम अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

नुर आलमले २०७८ जेठ ५ गते बारा कलैया उपमहानगरपालिका ३ भवानीपुर टोलका नबिहसन अंसारीको छोरी कलमा खातुनसँग रितिरिवाज अनुसार विवाह गरेका थिए । खातुनले २०८० बैशाख २६ गते छोरा जन्माएकी थिईन । काठमाण्डौं बस्दै आएका अन्सारीले छोरा जन्मेको ८ दिनपछि घर आएर बैशाख १४ गते श्रीमती कोठाबाट बाहिर निस्केको मौका पारेर खाटमा सुताइएको शिशुको घाँटी थिचेर हत्या गरेका थिए ।

उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा शिशुको मृत्य भएको थियो । धार्मिक परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा छोराको सदगत गरेपछि अन्सारी भने काठमाडौंतर्फ लागेका थिए । काठमाडौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिनथालेपछि घटनाको यथार्थ उजागर भएको हो ।

श्रीमतीले फोन रेकर्ड सहित उजुरी दिएपछि खोजबिनको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा अन्सारी मंगलवार काठमाण्डौंबाट पक्राउ परेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधवार नै जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो ।

अंसारी उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धानको लागि जिल्ला अदालत बाराबाट अदालतबाट ७ दिनको म्याद थप गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update