Kath khabar
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने



             काठमाडौं, जेठ ३२ । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ ।

डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । त्यस्तै बैंकले ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।

बैंकले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्‍याउने विश्वास बैंकले गरेको छ । 

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update