 
                                                                    
काभ्रेपलाञ्चोक, जेठ ३२ । श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्यको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो। उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ २९ गते मापसे गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपाने अनुसार प्रहरी घटनास्थलमा पुग्दा शम्भु नसामै थिए। श्रीमती ज्ञानुलाई शम्भुले हात/खुट्टा बाँधेर कुटेका थिए। त्यसपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको थियो।
‘उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो,ʼ उनले भने, ‘बिहीबार बिहान उनलाई अस्पतालले मृत घोषणा गरेको हो।ʼ प्रहरीले हत्या आरोपमा शम्भुलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।

 
    
 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    