 
                                                                    
काठमाडौं, असार ३ । फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष डेढ वर्षपछि पक्राउ परेका छन्।
ओखलढुङगा सिद्धिचरण नगरपालिका-७ का ५० वर्षीय पासाङ भन्ने पेम सोने शेर्पालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरीले उनलाई शनिबार मोरङ बुढीगंगा गाउँपालिका-२ बाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
उनी डेढ वर्षअघि काठमाडौं दक्षिणकाली-६ फर्पिङ कमल पोखरीस्थित हरिकृष्ण श्रेष्ठको टहरामा ५३ वर्षीय गोदे भन्ने प्रिती कुमार राईसँग बस्थे। सोलुखुम्बु बुङ गाउँपालिका-१का उनलाई शेर्पाले काठको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या पछि उनी फरार भएका थिए। फरार रहेका शेर्पालाई प्रहरीले खोजी गर्नेक्रममा विशेष सुचनाको आधारमा शनिबार पक्राउ गर्न सफल भएको एसपी रेग्मीले जानकारी दिए।
शेर्पालाई पक्राउ गरी कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको उनले बताए।

 
    
 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    