Kath khabar
कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा सहित ३ जनालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

 

                   काठमाडौं, असार ५ ।  विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो।

प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सुनाएको हो। ढकाल र शर्मालाई ९/९ वर्ष कैद सुनाएको छ। यस्तै इजलासले उनीहरूलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको हो। उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका २ मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो। 

अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।

९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो। अख्तियारको शुरू मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो। सो मध्ये १० अर्ब २ करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो।

बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो। अख्तियारले २ वर्षअघि पनि उनीहरू विरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो। उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर विशेष अदालतले गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update