Kath khabar
ललिता निवास प्रकरण : बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस

 

              काठमाडौं, असार १७ ।  ललिता निवास क्याम्पको १४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ । प्रहरीका अनुसार १० कर्मचारी र २ बिचौलियाले सो जग्गा बकसका रूपमा घुस लिएका हुन् । 

घुस बापत जग्गा लिने कर्मचारी माथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्ण शमशेर राणाका परिवारको नाममा लगिएको थियो ।

यसरी जग्गा फिर्तामा सहयोग गर्नेलाई राणा परिवारले घुस बापत जग्गा बकस दिएका थिए । सुवर्ण शमेशरका परिवारले समेत यसको पुष्टि गरेका छन् । गत मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पनि राणासँग बक्सिसमा जग्गा लिनेमध्ये एक हुन् । उनले ५ रोपनी २ पैसा २ दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा लिएका थिए, जुन पछि बिक्री गरिसकेका छन् । 

उनी बाहेक मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्द प्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेम बहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्म प्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि जग्गा लिएका छन् । त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्त प्रसाद श्रेष्ठ र समर जंग कम्पनीका सहलेखापाल विनोद प्रसाद पौडेलले पनि जग्गा बकसका नाममा घुस लिएका छन् । उनीहरू मध्ये मुकुन्द आचार्य तथा युक्त प्रसादको मृत्यु भइसकेको छ । बिचौलियाद्वय रामकल्याण अधिकारी र रामकनाथ घिमिरेले पनि यसरी जग्गा लिएका थिए । 

कर्मचारीहरू सबैले आफन्तको नाममा जग्गा लिएका छन् । सिआइबीले जग्गा बकस लिनेहरूको बयान लिइसकेको छ । जसक्रममा धैरेले राणा परिवारसँग जग्गा बकस लिने निकटता नभएपछि परिवारको आग्रहमा आफ्नो नाममा पास भएको बयान दिएका छन् । 

मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्द प्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा १ रोपनी लिएका छन् । प्रेम बहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा ३ रोपनी १ आना २ पैसा जग्गा लिएका छन् । 

त्यतिवेला अधिकृत रहेका र पछि सहसचिवबाट अवकाश पाएका गेहनाथ भण्डारीले श्रीमती भुवन कुमारी चापागाईं र सासू सोदा कुमारी चापागाईंको नाममा १० आना लिएका छन् । केही जग्गा सुधीर शाहपत्नी उर्मिला र भुवन कुमारीको नाममा संयुक्त समेत भेटिएको छ । मालपोत अधिृकत धर्मराज गौतमले सालीका छोरा मोहन प्रसाद भट्टराईको नाममा खिमा र शशिकला सुब्बासँग संयुक्त रूपमा लिएको प्रमाण प्रहरीले फेला पारेको छ । 

जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंका नाममा ४ रोपनी २ आना लिएका थिए । कलाधर देउजाले साढुभाइ इन्द्र बहादुर थापाको नाममा लिएका थिए । उनले मिठुदेवी चापागाईंसँगको संयुक्त नाममा पास गरेका विवरण छ । सुरेन्द्रमान कपालीले पनि भतिजा बुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएका थिए । युक्त प्रसाद श्रेष्ठले बहिनीको नाममा १ रोपनी १३ आना तथा श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए । समर जंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस पाएका थिए । बिचौलिया रामल्याण अधिकारीले २ रोपनी १२ आना तथा रामनाथ घिमिरेले ३ रोपनी ४ आना लिएका थिए । उनीहरूमध्ये घिमिरेको भूमाफिया तथा कर्मचारीसँगको सम्बन्ध प्रहरीले पत्ता लगाउन सकेको छैन । उनी फरार छन् । उनीहरू मालपोतका साक्षी समेत बसेको खुलेको छ । 

यसरी घुस बापत जग्गा लिनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धानको दायरामा ल्याएपछि मुद्दा भने नचलाउने निर्णय गरेको थियो । तर, प्रहरीले भने सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी गरेको छ । 

WhatsApp Image 2023-07-02 at 14.41.071688288541.jpeg

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update