Kath khabar
ललिता निवास प्रकरण : थप २ जना पक्राउ 


                          काठमाडौं, असार १८ ।  ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देव नारायण महर्जन रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ। 

भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको त्रिपक्षीय मिलेमतोमा भएको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ।

सिआइबीले आइतबार  ललिता निवास जग्गा हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको थियो। हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमान कुमार कार्की र बाबुराज महर्जन छन्। सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन् । भट्टराई हाल काठमाडौं महानगरपालिकामातहत सहकारी विभागमा कार्यरत छन् । उनी महानगरका छैटौँ तहका कर्मचारी हुन्।

यस्तै, सिआइबीले गत मंगलबार यो प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको हो।

गुरुङ, शाह, गौतम र कार्की हिरासतमै छन् भने अदालतबाट पहिल्यै ‘स्टे अर्डर’ जारी भएका केसी, देउजा र कपालीलाई भने हाजिर जमानीमा छाडिएको छ। 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update