Kath khabar
निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमर बहादुरलाई जन्मकैद

 

              काठमाडौं, असार २० ।  निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार समिरमान बस्नेत र काले भन्ने अमर बहादुर रानालाई जन्मकैदको सजाय भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद घिमिरेले बस्नेत र रानालाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेत लगायतलाई दोषी ठहर गरेको थियो।

गौचनको हत्यामा पक्राउ परेका लोप्चन लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र माया शेरचनलाई १० वर्ष कैद सुनाएको छ। 

माया शेरचनलाई पूरक अनुसन्धानबाट अदालतमा पेश गरिएको थियो। उनलाई योसँगै हतियार सम्बन्धी कसुरमा पनि सजाय निर्धारण गरेको सूचना अधिकारी दाहालले बताए। हतिया सम्बन्धी कसुरमा भने उनलाई ६० हजार रुपैयाँ जरिवाना सुनाएको छ।  

त्यस्तै, धनराज योङहाङ, गुम्बी भन्ने श्याम बहादुर गुम्बी, कालेदारी भन्ने रोशन बुढाथोकी र राजिव तामाङ भन्ने राजिव स्याङतानलाई जनही ५ वर्ष कैद निर्धारण भएको छ। 

बसन्त थेबे र मनोज पुन भन्ने मनोज बुढा मगरको दाबी भने खारेज भएको छ। उनीहरूको निधन भइसकेको हुँदा इजलासले खारेज गरिदिएको सूचना अधिकारी दाहालले बताए। यस मुद्दामा ७ जना प्रतिवादी अहिले पनि फरार छन्।उनीहरूलाई भने इजलासले मुल्तबीमा राखेको छ।   

‘७ जना फरारहरूको हकमा मुल्तबीमा राखिएको छ। त्यो भनेको पक्राउ परेपछि फेरि मुद्दा जागेर उनीहरूको हकमा फेरि फैसला हुन्छ,’ उनले भने, ‘तत्काल केही भएन तर पक्राउ परी आएपछि थुनछेक भएर मुद्दाको कारबाही अघि बढ्छ।’

फरार हुनेमा गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायब, सुजा थक्सु बाजी, सुधीरकुमार शाह र प्रदीपकुमार झा छन्। इजलासले ७ जनालाई सफाइ समेत दिएको छ। 

प्रकाश बुढाथोकी, सन्तोष गुरूङ, शिवजी महतो कमकर, सुर्य बहादुर बाजी, राज कुमार शाह, मुकेश कुमार पाण्डे र श्याम गुप्ताले सफाइ पाएका हुन्।
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update