Kath khabar
१६ वर्षीया नाबालिग बलात्कार घटनामा एलओडी क्लबका २ सञ्चालक विरूद्ध पक्राउ पुर्जी

 

                काठमाडौं, असार २१ ।  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका २ सञ्चालक विरूद्ध पक्राउ अनुमति लिएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल्ला अदालतबाट २ जना कम्पनीका सञ्चालक विरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। सञ्चालकहरू रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। 

गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए। 

प्रहरी स्रोतका अनुसार नाबालिगलाई सुदन कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्। त्यसराति फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए। तर त्यहाँ नाबालिगको सुदन कोइरालासँग भेट भएको थियो। 

‘नाबालिगले साथीसँगै जान्छु भनेकी रहेछन्। साथी पनि मसँगै जाने हो भनेपछि नाबालिगलाई आफ्नो गाडीमा हालेर बागडोल पुर्‍याइएको रहेछ,’ स्रोतले भन्यो। यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरू विरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update