Kath khabar
'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ करोड रुपैयाँको कारोबार

 

               काठमाडौं, असार २१ ।  'वान एक्स बेट' मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरी विना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । 

खड्काले अनलाइन जुवा खेल मार्फत ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

गएको जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २ सय ५२ रुपैयाँ जम्मा गरेर त्यो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार खड्का विरुद्ध २ जना पीडितले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीका लागि टेकुमा रहेको जिल्ला प्रहरी परिसर पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update