Kath khabar
गोरखपुरकी 'लेडी डन' गीता तिवारी भैरहवाबाट पक्राउ

 

                रुपन्देही, असार २२ । भारतको गोरखपुरमा 'लेडी डन' को नामले चर्चित गीता तिवारी भैरहवाबाट पक्राउ परेकी छिन् । चोरी, लुटपाट, हत्या लगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भरत बहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन् । भारतको गोरखपुर बस्ने ४३ वर्षीया गीता तिवारी वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका-३ बस्ने हेमन्त कुमार हलवाइको घरबाट सुनका गरगहना सहित ५० लाख रुपैयाँ बराबरको चोरी गरेको घटनामा संलग्न रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका-३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रुपैयाँ चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका-८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार रुपैयाँ सहित ल्यापटप, मोबाइल, सुनको औँठी चोरी गरेको आरोप प्रहरीले लगाएको छ ।

तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका-९ बस्ने श्याम सुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइल लगायत १ लाख १५ हजार रुपैयाँ लुटेको प्रहरीको दाबी छ । प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका-३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ । 

प्रहरीले तिवारीका साथबाट कटुवा पेस्तोल १ थान, केएफ ७.६५ लेखेको गोली ३ राउन्ड, २ वटा खुकुरी, १ चक्कु, सलाई रिन्च ३ वटा, १ छिनो, १ मोटरसाइकल, १ भारतीय नम्बर प्लेट भएको स्कुटर , ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रुपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताउनु भयो ।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यस्तै हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ । तिवारीका समूहका अन्य सदस्यको समेत खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update