Kath khabar
श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जना सहित सिक्री किन्ने भारतीय ब्यापारी पक्राउ

 

                 काठमाडौं, असार २४ ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापको लिखु-१ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी छन्।

उनीहरूले लुटेका सुनका सिक्री किन्ने भारत पश्चिम बंगालका ४२ वर्षका श्रीकान्ता माइतीलाई पनि प्रहरीले हिरासतमा लिएको छ। माइतीले असनमा सुन पसल चलाउँथे। सुनको सिक्री लुटपाटका मुख्य योजनाकार रविन दमाई भएको कार्यालयका एसएसपी मनोज केसीले जानकारी दिए।

सिक्री लुटन् उनीहरूले मोटरसाइकलमा हिँड्ने गर्थे। बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको केसीले बताए। असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए।

उनीहरूको साथबाट प्रहरीले २ वटा चोरीको मोटरसाइकल, गलाएको सुनको ढिक्को समेत बरामद गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update