Kath khabar
मृगलाई गोली हान्दा आफ्नै साथीको मृत्यु

 

                   भोजपुर, असार २५ ।  भोजपुर जिल्लाको भोजपुर नगरपालिका-१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले गोली हान्दा आफ्नै साथीको ज्यान गएको छ। गोली लागेर भोजपुर-१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरत कुमार थापा छेत्रीले जानकारी दिए। थापाका अनुसार असार २२ गते राति गोली लागेर साथीको मृत्यु भएपछि उनीहरूले मृतकलाई खोलाको बगरमा पुरेका थिए।

“घटना २२ गते रातिको भन्ने बुझिएको छ”, प्रहरी प्रमुख थापाले भने, “साथी मरेपछि अखुवा खोलाको बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ। पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौं। थप अनुसन्धान जारी छ।”

मृतकका आफन्तले यही असार २४ गते दिप्सन बेपत्ता भएको भन्दै खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए। लगत्तै प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो।
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update