Kath khabar
हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने


                 काठमाडौं, असार २६ । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको छ । सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरेको हो ।

सो सम्बन्धी आइतबार भएको सम्झौतामा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले रा.वा. बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता अद्यावधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोबाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२/०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यु आर कोड सेवा, पस (प्वाईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्यु आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update