Kath khabar
काठमाडौं महानगरले तोक्यो २ पाङ्ग्रे र ४ पाङ्ग्रेको पार्किङ शुल्क, प्रतिघण्टा २५ देखि ७५ रुपैयाँ सम्म

 

               काठमाडौं, साउन १ ।  काठमाडौं महानगरपालिकाले २ पाङ्ग्रे र ४ पाङ्ग्रे गाडीको पार्किङ शुल्क निर्धारण गरेको छ ।

सोमवार महानगरपालिकाकी उप-मेयर सुनिता डंगोलले सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र गाडीको पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौं महानगर भित्र २ पाङ्ग्रे गाडीको आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ । १ घण्टाको २५ रुपैयाँ र १ घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो । यस्तै ४ पाङ्ग्रे गाडीले आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । १ घण्टाको ७५ रुपैयाँ र १ घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

उपमेयर डंगोलले महानगरको न्यायिक समितिमा कोठा र पसलको शटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको सङ्ख्या बढेको पनि बताउनुभयो । पछिल्ला दिनमा आर्थिक मन्दीका कारण पनि त्यो उजुरी न्यायिक समितिमा झन्डै दोब्बरले बढेको उहाँले बताउनुभयो । हरेक १० वटा उजुरीमध्ये ८ वटा उजुरी कोठा र शटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको महानगरपालिकाले बताएको छ ।

उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारी लगायतका संस्थाहरू भागेको उजुरी पनि आउने गरेको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update