Kath khabar
काठमाण्डौको फोहर बोकेका गाडी आज पनि बञ्चरेडाँडा जान पाएनन्, अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

 

            काठमाडौं, साउन २ ।  काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान नसकेका हुन् ।

स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका ३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो ।

नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरस हित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्ने लगायतका माग छन् ।

त्यसैगरी फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई १ हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

फोहर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले हिजो यस्तो आदेश दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

सङ्घले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ अस्ति रिट दर्ता गरेको थियो । तर, नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीय बासिन्दाले भने आफ्ना माग सम्बोधन नभएसम्म फोहर लैजान नदिने अडान राखेका छन् । आज पनि काठमाडौंबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जान सकेका छैनन् । हिजो फोहर बोकेर गाडी बीच बाटोबाटै फर्किएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update