Kath khabar
जुम्लामा साल्ट ट्रेडिङको डिपोमा सहज रूपमा नुन नपाएको भन्दै  ढुङ्गामुढा

 

              जुम्ला, साउन २ ।  जुम्लामा सहज रूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङको डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेका नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

'नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयमा क्षति भएको छ', कार्यालय प्रमुख मल्लले भन्नुभयो, 'म सिञ्जामा नुन वितरण गर्न गएको थिएँ, अस्ति आइतवार सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेको समयमा तोडफोड हुँदा कार्यालयको मुख्य ढोकामा क्षति भएको  छ।'

उहाँका अनुसार नुन कम भएकाले यसअघि ३ प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यक्तिलाई ५ प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले  कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेका जानकारी दिनुभयो । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उहाँको भनाइ छ ।

गएको वर्ष जुम्लाका लागि २ हजार ५ सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र २ हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ । यहाँको सिञ्जा क्षेत्रमा पर्ने ३ पालिकाका लागि नराकोटमा नुनको उपशाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update