Kath khabar
विकास बैंकहरूले दिगो विकासमा योगदान दिन हरित निक्षेप र हरित कर्जा योजना ल्याउने



                काठमाडौं, साउन ३ । विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको गरेको छ ।

उक्त निर्णय अनुसार विकास बैंकहरुले कृषिजन्य उद्यम, बनजन्य उद्यम, जल उर्जा, सौर्य उर्जा, जैविक उजा, वायु उर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यम आदि शिर्षकमा केन्द्रित रहेर निक्षेप तथा कर्जा योजना ल्याउने भएका छन् ।  बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालले गरेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चितता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ । ‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा शून्य दशमलव पच्चीस प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र  ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा  भन्दा शून्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रोडक्स पेपर विकास गरिने भएको छ ।  सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई विकास गर्न सक्ने निर्णय पनि एशोसियनले गरेको छ । कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।

आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसियसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको जानकारी समेत दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update