Kath khabar
जाँचपास भएर बाहिरीसकेको बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

 

             काठमाडौं, साउन ४। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसके पछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब १ क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

सुन प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये ४ जनाको नाम र ठेगाना खुलेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update