Kath khabar
नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला


             काठमाडौं, साउन ४ । नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । नबिल एसएसईको फेसबुक पेजमा रहेको लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ । अथवा नबिल बैंकको वेबसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ ।

सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।

आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धका ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसै गरी देशभरिको शाखा विस्तार भई २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update