Kath khabar
धरौटी बुझाउन नसकेपछि प्रहरी हिरासतमै महिलाले गरिन आत्महत्या

 

                सर्लाही, साउन ५ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाले थुनुवा कक्षमै आत्महत्या गरेकी छिन्। चक्रघट्ट गाउँपालिका-८ निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन्।

थुनुवा कक्षको शौचालयको ढोकामा सलको पासो लगाएर खातुनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। विहिवार राति १० बजेतिर शौचालय गएकी खातुन निकै बेरसम्म ननिस्किए पछि शौचालयको ढोका फोडेको थियो।

उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ। उनी साउन ३ गते स्रोत नखुलेको रकम र चाँदी सहित पक्राउ परेकी थिईन।

नेपाल-भारत सीमाक्षेत्र मलंगवा नगरपालिका-८ झिलिमिलियामाई नजिकै बाट पक्राउ परेका २ मध्ये खातुनलाई ३ लाख ३९ हजार धरौटी तोकिएको थियो। उनले धरौटी बापतको रकम बुझाउन सकेकी थिइनन्

त्यसपछि जिल्ला भन्सार कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा पठाएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update